आफ्नै छायाँमा

Self Portraits

(सुलेख, साहित्यिक मासिक पूर्णङ्क ८५, वर्ष ८ अङ्क ६ असोज २०७६मा प्रकाशित)
“के गर्दै हुनुहुन्छ भाउजू ? केही सघाउनु पर्ने भए देवर हाजिर छ !”
एकसुरमा घरको काम गरिरहेकी सीता अकस्मात कसैको उपस्थिति महसुस गरेर नराम्ररी झस्किइन । आवाज ठम्याएपछि बल्ल उनी केही आश्वस्त भइन, अगाडिको डर हट्यो । त्यो आवाजको धनी उनकै घर जोडिएको छिमेकी थियो । उनीसँग नजिकिने सानो भन्दा सानो मौका पनि गुमाउँदैनथ्यो त्यो छिमेकी पुरुष । उसको अभ्यन्तर चाहना बुझेर पनि उसको उपस्थितिबाट भने सीतालाई डर लाग्दैनथ्यो । डराउनु पर्ने आवश्यकता नै थिएन । उनलाई थाहा थियो उसले मनैमन उनीसँगको साहचर्य चाहे पनि उसमा चक्षु सान्निध्य भन्दा पर शरीर प्राप्ति र भोगको हदसम्म जाने आँटै गर्दैनथ्यो । गर्दैनथ्यो के भन्नु त्यस्तो आँट नै थिएन उसमा । त्यसको लागि पनि दुस्साहस चाहिन्छ, जुन उसमा थिएन । त्यसैले त्यो मानिस सीताको लागि हानिकारक थिएन र नै उनी भित्रभित्रै त्यसप्रति सहानुभूतिशील थिइन् । उनको लागि त्यो चेष्टारहित स्वप्निल सान्निध्यको चाहना राख्ने निरापद पुरुष बरु उनलाई मात्र यौन साधन ठानेर काँचै खाउँझैं हेर्ने पुरुषहरूबाट बच्न ढालको रूपमा उपयोग हुन सक्थ्यो ।
आवाज ठम्याउनु अघि उनको मनमा अनिष्ट भाव नउब्जिएको होइन । को आयो फेरि ! दिनहुँ यस्ता खालका स्वर र अवाञ्छित अनुहारहरूको सामना गरिरहनु उनको जीवनको नियमित यथार्थ थियो । शिकारको खोजीमा भुनभुनाउने कलुषित मनका सुकिला भमराहरू उनको सौन्दर्यमा होइन, यौवनको पुष्ट परागमा लुट्पुटिने चाहना गरेर वरिपरि भुनभुनाइरहेका हुन्थे । बाहिर उनको सुद दुखः र सुरक्षाप्रति चिन्तित भए झैं देखाउने ती अनुहारहरू एकान्तमा भेट्दा आफैं बाजले झै झम्टा मार्न बेर मान्दैनथे । त्यसैले आवाज नठम्याउन्जेल भित्रभित्रै डराएर केही चिन्तित बनेकी सीता स्वर ठम्याए पछि ढुक्क भएकी थिइन । लाग्यो, अब पूर्ण निरापद छु !
यी आधुनिक सीता रामायणकी सीताभन्दा भिन्न भएर पनि पुरुषसत्ताको दृष्टिमा समान थिइन । मात्र पुरुष सन्तुष्टिको एउटा साधन ! यी सबै समान रूपमा व्यवहृत थिए, वस्तुसमान । कसै न कसैको स्वामित्वको वस्तु– अझ भोग्या, मात्र भोग्या ! त्यसैले कसैको स्वामित्वमा छउन्जेल मात्र सुरक्षित ठानिन्थे सीताहरू । त्यो कसैको साथ स्वामित्व छुट्नासाथ पाइला पाइलामा एक्लोपनको फाइदा लिन खोज्नेहरूबाट सधैं असुरक्षित, सधैं भयग्रस्त !
सानैमा बाबु आमाले सुरक्षास्तम्भका रूपमा छानेर हिल्ला लगाएको त्यही आधार अर्थात् सुरक्षास्तम्भ क्यान्सरको घातक प्रहारबाट सधैंका लागि ढल्यो । त्यस पछि उनले साँच्चिनै आफूलाई एक्लो र असुरक्षित ठान्न थालिन् । त्यही असुरक्षाबाट जोगिन चनाखो पनि बन्न थालेकी थिइन् । नभन्दै दिनहुँजसो उनले यस्ता अनेकौं पात्र–चरित्रहरूको सामना गरिरहनु परेको थियो ।
यो पात्र भने तीभन्दा नितान्त बेग्लै थियो, निरापद ।
अन्तिम अवस्थामा ज्ञानी र सदचारी भनिने रामले समेत भाइ लक्ष्मणलाई ज्ञान–अर्ति लिन पठाएको जस्तो खालको ज्ञानी पनि थिएन ऊ । न रावणजस्तो बुद्धिमान थियो, न रावणजस्तै स्वधर्मको निमित्त ज्यानै फाल्ने खालको । तर पनि बाबुआमाले उसको नाम रावण नै राखिदिएका थिए । रावण नै नभए पनि रावणजस्तै बलिष्ठ भने देखिन्थ्यो । उसको सोैष्ठवयुक्त आकर्षक कद काठी र अनुहार आजका प्राय सीता र सुर्पणखाँहरू समेत लट्ठ पर्ने खालको ।
सौन्दर्यको पारख गर्नमा भने ऊ रावण सरह नभए पनि उस्तै उस्तै थियो । बगैँचाको फूलको सौन्दर्य त्यसलाई टिपेर मुठ्ीमा किचिमिची तुल्याउनुमा होइन, टाढैबाट हेरेर, सुँघेर अनुभूत गर्नुमा बढी सार्थक बन्छ भन्ने पो विश्वास गथ्र्यो कि ? त्यसैले ऊ छोइहाल्ने, चुँडेर चिमिची पार्ने केनै चेष्टा गर्दैनथ्यो । त्यसकै परिणाम सङ्गातीहरूबाट लाछी, नपुङसक जस्ता संज्ञाद्वारा विभूषित हुने गथ्र्यो ऊ ।
हुन त के थाहा, भित्रभित्रै ऊ भोगको चाहना पनि राख्थ्यो कि ? भए पनि उनलाई यसको छनक थिएन् । यही कारण बाहिर देख्दा लक्ष्मणजस्तै लज्जालु र आज्ञाकारी देवर भन्न मिल्ने उसलाई शङ्काको लाभ दिएकी थिइन् ।
भनिहालेँ, ऊ उनको साख्खै देवर थिएन । छिमेकको देवर पर्ने थियो । अरु पनि धेरै थिए छिमेकमा । कोही भाउजू भन्थे, कोही बुहारी र अझ कोही सीताजी भनेर नाम किटेरै बोलाउँथे । तीमध्ये प्राय सबै उसको वैधव्यलाई संरक्षण दिने नाममा आफ्नै घेराभित्र सीमित राख्न खोज्ने खालका थिए ! त्यही अभ्यन्तर चाहनाबाट प्रेरित रहन्थे तिनका गतिविधि ।
हुन त आँट नपुगेर मात्रै हो, नत्र त सीताहरूलाई हेर्ने यो निरापद पात्रको दृष्टि पनि फरक थिएन । उसको पनि सोच उस्तै उस्तै थियो । ऊ सोच्थ्यो, कुनै पनि नारी एक्लै बाँच्न सक्दिन । त्यसैले छिमेकीको नाताले सुरक्षा दिनु उसको कर्तव्य हो । यो कर्तव्य ऊ खुसीखुसी पूरा गर्न तत्पर भएको देखाउँथ्यो ।
हो त्यसैले, निरापद नै ठाने पनि सीता पूरै ढुक्क भने थिइनन् । सधैं उसको त्यो सुरक्षाचक्र बन्ने व्यग्रताभित्र कुटिल खालको अभीष्ट त लुकेको छैन, शङका लाग्थ्यो । र, भित्र भित्रै सतर्क बन्थिन् ।
उनी प्राय उसको कृत्रिम गंम्भिरताभित्र लुकाइएको भावभंगी र देखावटी चिन्ता देखाउँदै उसले एक दिन घरको वरिपरि खरानीको घेरो बनायो । त्यो देखेर सीताले सोधिन् – के भयो तिमीलाई ? के गर्दैछौ तिमी वत्स ?
– म एउटा लक्ष्मण रेखा कोर्दैछु, यसलाई ननाघ्नुहोला !
– किन आज पनि मेरालागि हिजैकी सीताजस्तै सुरक्षा घेराको जरुरत ठान्छौ ?
– हो….। किन भने एउटी स्वास्नीमान्छे कहिल्यै सुरक्षित छैन । न स्वास्नीमान्छेको कुनै धर्म हुन्छ, न त कुनै जात र वर्ण । त्यसैले जुन बलिष्ट हातद्वारा समातिन्छे, त्यसैको स्वामित्वमा पुग्छे । यही सनातन सत्य हो । तपाइँ त त्यसमाथि एक्ली । जो कोहीबाट असुरक्षित बन्न सक्नुहुन्छ । होइन…?
– यसबाट के हुन्छ ? के गर्छ यो घेरोले ?
– यसले तपाइँको रक्षागर्ने छ ।
– केबाट ? कसबाट ?
– सबै प्रकारका अनिष्टहरूबाट । नजिक हुन खोज्दै एक्लोपनको फाइदा उठाउन खोज्नेहरूबाट !
– के यो एउटा सानो घेराले गर्नसक्ला मेरो रक्षा ?
– गर्छ….पक्कै गर्छ, यो मेरो विश्वास हो !
– अनि अरुबाट त यसले मेरो रक्षा गर्ला रे लौ ! तर तिमी आफैं मेरो अनिष्ट बन्यौ भने ? त्यतिबेला नि ?
सीताले हाँसेरै उसप्रति व्यङ्ग्य प्रहार गरिन् ।
– भाउजू पनि…..!
त्यति मात्रै निस्कियो उसको मुखबाट । उनको त्यो व्यङ्ग्यपूर्ण प्रश्नबाट के भनौं कसो भनौंको अन्यमनस्कतामा हराएको देखिन्थ्यो ऊ । उसको अनुहार रातो देखियो, सायद लज्जाबोधले !
सीता बाहिर शान्त थिइन, भित्र चाहिँ अन्तद्र्वन्द्वका ज्वारभाटा उठ्दै बिलाउँदै गरिरहेका थिए । उनी यो कथित सुरक्षा चासोप्रति कृतज्ञ बनून् वा आफ्नो स्वतन्त्रता खुम्च्याएर वरिपरि त्यस्तो घेरा कोर्नेहरूप्रति आक्रोशित ? उनीभित्र अन्र्तद्वन्द्वको आँधी चल्थ्यो, र दाह्रा किटेर आफूभित्रको क्रोध दबाउँथिन् । नदीमा बसेर गोहीसँग शत्रुता राख्नु पनि त भएन, झनै समस्या निम्त्यायो भने !
यसरी भित्र भित्रै भने आन्दोलित थिइन् उनी – के अधिकार कसैलाई उनको वरिपरि सीमारेखा कोर्ने ? तर पनि त्यो आजको लक्ष्मण बन्न खोज्ने देवरको मन राख्नैका लगि भनिदिन्छिन्– चिन्ता नगर, म तिमीले कोरेको घेरा नाघ्ने प्रयास गर्दिन । तिमी आफू पनि यो घेरा नाघेर भित्र पस्ने चेष्टा नगर्नू नि ? मेरो गोठालो लाग्नु आवश्यक छैन, जाऊ अरु कर्तव्य के के छन्, तिनलाई पूरा गर !
सीता रावण मात्र होइन आफ्नो अघिल्तिर आउने जुनसुकै पुरुष अनुहारसँग आजित थिइन, त्यो चाहे राम हुन् चाहे लक्ष्मण, भरत वा शत्रुघ्न ! उनी ती सबै अनुहारमा समान प्रवृत्ति देख्ने गर्थिन् । ती सबैका आँखामा स्त्री सौन्दर्य र तिनका आकर्षक अङ्गप्रतिको आकर्षण समान हुन्थे । तिनका आँखामा समान लोभ र समान दासीभाव छचल्किन्थे ! तिनै आँखा गाडेर उनीसँग यौवन र सेवाको भिक्षा माग्ने रावणहरू अनेकौं अनुहार धारण गरेर आउँथे । सन्तुष्टिको भिक्षा थाप्ने प्रयत्न गर्थे । कैशोर्य मैं वैधव्य भोगेको उसको पुष्ट शरीरको मांशलता र सौन्दर्यमा लोभिने अनेकथरी जोगीहरू भिक्षार्थी बनेर आउँथे उसका अगाडि । केही रावणको जोगी भेषमा, कोही अरु अरु मुखुण्डो भिरेका बहु रूपमा !

××× ××× ×××
एक दिन,
– कति राम्री देखिएकी नि ! मनै, लोभ्याउने ।
उनले कुनै जवाफ दिइनन् । जवाफ दिएर साध्यै पनि त थिएन यस्ता अभिव्यक्ति दिनमैं कतिपल्ट सुन्नुपथ्र्याे, पथ्र्यो ! कोही उनको अगाडि नै मुख मिठ्याउँथे, कोही पिठ्यँु पछाडि ! त्यसैले एक कानले सुनेर अर्कोले उडाइदिन अभ्यस्त बनिसकेकी थिइन् सीता ।
टोलका चङ्खे अनुहारहरूमध्ये एउटा अनुहार उनलाई देख्नासाथ जहिले पनि मुखै खोलेर यस्तै भन्ने गथ्र्यो । यो चङ्खेसँग चाहिँ उनी अलि बढी नै सतर्क हुनेगर्थिन् । लाग्थ्यो ऊ हरबखत चिलले चल्ला छोपे झैं झम्टने अवसरको खोजीमा छ । शरीर लुछ्ने मौकाको ढुकाइमा छ । उनको यो शङ्का निराधार पनि थिएन । अनजानजस्तो बन्दै शरीर स्पर्शको मौका ढुक्ने उसको चलाकीले यस्तो आशङ्का जन्माउनु स्वभाविक थियो । हुन पनि ऊ सकभर अरु कोही नभएको मौका खोजेरै आउँथ्यो । उमेर हेर्ने हो भने बाबु भन्न मिल्ने उमेरको थियो ऊ । टोलकै सानो तिनो राजनीतिक कार्यकर्ता भए पनि आफूलाई मुलुककै प्रधानमन्त्रीभन्दा कम ठान्दैनथ्यो । सीता मात्र होइन, तरुनी केटी देख्यो कि ¥याल काड्ने उसको बानी नै थियो । त्यसैले सीताका साथै टोलका अरु पनि तरुनी युवतीहरू एक्लै दुक्लै त्यस चङ्खे अनुहारको अगाडि पर्नबाट जोगिन्थे । उसलाई देख्यो कि तर्केर हिँड्थे ।
“सीता….कसरी कटाउँछ्यौ एक्लै यति लामो जीवन ! कसैको साथबिना बिताउन कठिन हुँदैन पहाडजस्तो एक्लो जीवन !” उसको चासोपूर्ण खेक्रो सहानुभूतिले सीतालाइ झन कठोर बनाउँथ्यो । त्यसको साखुल्लेपन भित्रको कुत्सित आशय प्रष्ट थियो । सीताले नबुभ्mने कुरै थिएन । एक्ली असहाय, असुरक्षित सीता समाजमा सुरक्षित बाँच्नैका लागि ऊजस्ताको अँगालोको घेराभित्र दरिलो सहाराको खेजीमा हुन्छन् भन्ने सोच राख्थ्यो र त्यसकै लागि भूमिका बाँध्दै थियो ।
त्यो चङ्खे अनुहारको साखुल्ले बन्ने चेष्टाभित्र लुकेको आशय बुझेर पनि सीताले आफूभित्र उम्लँदै गरेको क्रोधको ज्वालालाई बलजफती रोकेर रखिन् । त्यतिखेर सीता बाहिर शान्त देखिन्थिन्, उनी भित्र भने क्रोधयुक्त अन्तद्र्वन्दका ज्वारभाटा उठ्दै बिलाउँदै थिए । यो कुत्सित कथनप्रति उनी कृतज्ञतापूर्वक खुशी बनून् वा आफूलाई गिजोलेर मजा लुट्न चाहने त्यस अनुहारप्रति आक्रोश पोखून् ? तर के गरुन्, नदीमा बसेर सकभर गोहीसँग शत्रुता राख्न पनि त भएन । त्यसबाट झनै समस्या निम्तिन सक्थ्यो । आखिर बदनामी हुने त स्वास्नीमान्छे कै न हो ?
“माफ गर्नोस् नेताजी, अरु अरुको चिन्ता गर्नोस् । तपाइँले मेरो चिन्ता गर्नु आवश्यक छैन । मलाई कसैको साथ चाहिन्न, जीवन बिताउन । मेरो थुप्रै काम सक्नु छ, अल्मल्याउनु भन्दा बरु तपाईं यहाँबाट जाँदा नै म सहयोग र सुरक्षाको अनुभव गर्नेछु !” सीताको व्यङ्ग्यमा सरोबर तीक्ष्णपनले समेत छोएन क्यारे उसलाई । उसले उठ्ने कुनै उपक्रम देखाएन ।
त्यसलाई उपेक्षा गर्दै सीता घरभित्र पसिन् । सोचेकी थिइन्, त्यस्तो उपेक्षा देखेर कसो नजाला ।
“घर आएको पाहुनालाई पानी समेत नख्वाइ पठाउँछ्यौ त सीता ?” त्यो मान्छे त्यतिसम्म निर्लज्ज बनेर भित्रै पस्ने आँट गर्ला भन्ने उनले सोचेकी पनि थिइनन् । ऊ त भित्रै पो आइपुग्यो ! आइपुगेको मात्रै होइन, आफैंले नजिकैको कुर्सी तान्दै आरामले बस्यो ।
त्यतिसम्म निर्लज्जता देखाएपछि सीतालाई लाग्यो, एक गिलाँस पानी घिचेर कसो नजाला त्यो फ्याउरो ।
सीताले पानी ल्याएर त्यसको हातमा दिन खोजिन । उसले पानीको गिलाँस होइन, हातै समातेर तान्न थाल्यो काखतिर ।
उसको त्यो बलात्कारी चेष्टाले सीताको ब्रह्माण्ड खलबलियो । साँच्चि नै महाकाली झैं क्रोधयुक्त हुँकार निस्कियो मुखबाट । सक्दो प्रतिरोध गरिन् सीताले । गिलासको पानी सबै पोखियो, तर पनि उसले छाडेन । सीताले उम्कने प्रयासमा आफ्नो हातको स्टिलको धारिलो गिलास त्यसको टाउकैमा प्रहार गरिन ! धारपटिबाट जोडले बज्रेको गिलासले गहिरो घाउ बनायो र बलात्कारी चाहनाले सीतामाथि हात हाल्न खोज्ने त्यो महिषाशुर रगतको धारो बगाएर छट्पटाउँदै ढल्यो । सीताको अनुहार भने स्वाभिमानले झर्झराउँदो देखिन्थ्यो, अग्निकुण्डबाट कञ्चन बनेर निस्किएकी सीता जस्तैै !
विजय निवास, आरुबरी ।