बन्दै विग्रँदै गरेका वादलका आकृतिहरू !

विस्तृत र अनन्त रूपमा फैलिएको नीलो आकाशलाई पूरै आफूमैं समाहित गर्ने उद्देश्यले वादल–साम्राज्य फैलिएको छ । बन्दै विग्रँदै गरेका ती वादलका विभिन्न आकृतिहरू लाई आफ्नो कल्पना अनुसारको आकार र रूप दिनुमा पनि कहिले काहीँ बडो आनन्ददायक लाग्छ मलाई ।
आफैंलाई अलमल्याउने बहानाको खोजीमा निःस्सार–निष्कृय वित्दै जाने गरेको क्षण यस्तो अनुकल्पना अरु रमाइलो हुने रहेछ, यो मेरो चिरन्तन अनुभव बनेको छ । क्षणिक नै भए पनि आफूलाई यथार्थको डरलाग्दो धरातलबाट मुक्ति दिनका लागि यस्ता दृश्यशक्ति केही सहयोगी हुने गर्थे मेरा लागि !
तिनै निःस्सार–निष्कृय क्षणमा कहिलेकाहीँ आफैंलाई फर्केर हेर्नो इच्छा जाग्दो रहेछ । मेरो आफ्नै जीवन झैं बन्दै विग्रँदै गरेका बादलका विभिन्न चित्र र आकारहरू एकपछि अर्को गर्दै मेरा दृष्टिपटलमा एउटा एउटा नयाँ अर्थ र विम्बहरू छाड्दै जान्छन् । म अनौठो अनुभूतिमा चुर्लुम्म डुब्छु– गतिशील रूपमा फैंलँदै टुक्रिँदै गरेका यी आकृतिहरू लाग्छ मेरो आफ्नै जीवनका प्रतिविम्ब हुन्; यी पनि त्यसरी नै कहिले विकराल र भयावह आकृति धारण गर्छन । कहिले मनमुग्ध गराउने मूर्त–अमूर्त रूपाकृतिमा बदलिन्छन् ।
मेरो मानसले वादलका ती विकराल र भयावह लाग्ने आकृतिहरू दन्त्यकथाका डरलाग्दा मानवको रूपमा चित्रण गर्न पुग्थे । केटाकेटी छँदा आमाको न्यानो काखमा लुट्पुटिँदै सुनेका र अलि पछि गएर बडो रस लिँदै पढेका दन्त्यकथाका ती रोमाञ्चक र आङ जिरिङ्ग पार्ने राक्षसी चरित्र अहिले जीवनका प्रत्येक यात्रामा मेरो पिछा गरिहेका हुन्छन् । म तिनबाट छुट्कारा पाउने कुनै उपायमा सफल हुन सकेको छैन । अहिले तिनले वादलका आकृतिका रूपमा समेत मेरो पिछा गरिरहेका छन ।, मेरो बाल्यकालमा परेको दन्त्यकथाको यो प्रभाव यति गाढा हुन्छ मैले सोचेको थिइन । त्यहाँ त सद्पात्रको विजय पनि हुने गथ्र्यो, तर मेरो यथार्थ जीवनमा खोई ती सद्पात्रहरू कहिले काहीँ आफैंसँग सोध्ने गर्छु म !
हुन त ती चित्र र आकारलाई अर्को दृष्टिले पनि हेर्न नसकिने होइन । भन्छन् जुनसुकै वादलमा पनि चाँदीको घेरा हुन्छ ! मलाई यो पनि थाहा छ, मेरो मानसले चित्रण गरेका ती आकृतिहरू कुनै बस्तुगत आधारमा तयार भएका होइनन् । कहिलेकाहीँ म आफैंँसँग सोध्ने गर्छु, ती आकार, रूपाकृतिलाई त्यसरी दन्त्यकथाका भयानक खलपात्रको रूपमा चित्रण गर्नुमा मेरो मानसको कुनचाहिँ प्रवृत्ति र तत्वको भूमिका छ ? आफूभित्रको त्यो प्रवृत्तिलाई मैले ठम्याउन सकेको छैन ।
अनुमानसम्म गर्न सक्छु म, मेरा ती अनुभूतिमा भूमिका खेल्ने तत्वहरूमा बढी भूमिका खेल्ने मेरो मानसले अनुभव गरेका आजका सामाजिक र अन्य कारकहरू नै हुनुपर्छ । मेरो समाज, म जन्मिएको हुर्किएको र बढेको समय र परिवेश अनि मैले बाँच्न गरेका सङ्घर्ष वाधाव्यवधान र दन्त्यकथाकै पुनरावृत्ति झैं घटनावलीका प्रत्यक्ष–परोक्ष प्रभाव पनि हुनसक्छ यो ! बाँच्नुसँग सँधैको लाप्पा खेलाइमा हात पर्ने असफलताको कथित नियति र प्रताडित मानसिकताले त्यस वादलका आकृतिमा स्वर्गीय आभायुक्त मनोरम स्वरूप र विम्बको कल्पनै गर्न सकिन मैले, जुन अरु देख्ने गर्छन् ।
कहिले काहिँ नीलो आकाशमा स्वतः बन्ने बिग्रने तिनै आकृतिलाई बाल्यकालदेखि नै मनको कुनै कुनामा बसेर लखेटिरहने मेरा बाल्यकालीन नायक र मलाई निल्न खोज्ने मानवभक्षी राक्षस विम्बहरूले ले छपक्कै ढाकिहाल्छ । अनि यस्तै दृश्य र कल्पनामा कहिले रमाउने र कहिले डराउने गर्छु म ! बचपनको दमित भावना, चाहना र अप्रिय अनुभूतिले मनमा घाउ बनाइदिन्छ र मानिस सारा जीवन त्यसैबाट परिचालित हुन्छ, लखेटिन्छ पनि ! आधुनिक मनोविज्ञानको अभिन्न यो फ्राइडीय निक्र्यौलले यौनचाहनामा मात्र नभएर हर मानवीय दमित चाहना र तिनले निर्माण गर्ने भविष्यमा पनि लागू हुन्छ र निरन्तर प्रभाव पारिरहेका हुन्छन् सायद् !
जे होस्, फुर्सदको क्षण कहिले काहिँ विगतका स्मृति बिम्बहरू मनमा मडार्रिन्छन् र सम्झन सकेदेखिका सम्झनाहरू केलाउन मन लाग्छ । तुरुन्तै झस्कन्छु पनि – के नै छ र मेरो जीवनमा आत्मसंस्मरणका रूपमा अभिलेखित गर्न । के उत्ताउलो त मान्दैन समाजले मैले आफ्नो आत्मसंस्मरण लेखेँ भनेँ ? तर मलाई थाहा छ, जिन्दगी एक महायात्रा हो, पहिलो चिहाँसँगै त्यसलाई सङ्घर्षका लागि एक्लै छडिन्छ । हो त्यसरी नै पहिलो अश्तित्वघोष, पहिलो चिहाँसँगै सङ्घर्षका लागि छाडिएथेँ म आमाको सुरक्षित गर्भबाहिर सङ्घर्षको महासमरमा ! मैले भोगेका त्यहाँदेखिका ती समय, ती संघर्ष र सफलता–विफलता मेरा हुन्, नितान्त मेरा ! तर भोलिका मेरा सन्तानले ती कुरा जान्न पाउनु पर्छ, यही मान्यताले मलाई उत्ताउलै भए पनि यो काम गर्न हौस्याएको छ । जीवनको अन्तिम नाम मृत्यु हो र मेरो जीवन पनि शनै शनै यही चरणतर्फ उन्मुख छ, त्यसैले पनि म यथाशीघ्र “बूढा मरे, भाषा सरे” भन्ने पृथ्वी सन्देशको अनुसरणमा लाग्दैछु ।
× × ×
समय थियो २००८ सालको असार महिना देशमा भर्खरै प्रजातन्त्रको उज्यालो छरिएको थियो । एक सय तीन वर्षको जहानियाँ राणा शासन रूपमा समाप्त भए पनि जनताको मानसिकता र समाजको सबै क्षेत्रमा जरो गाडेर बसिरहेको समय थियो त्यो । शोषणका उपकरण, छुवाछुत र आजिवीकाको अवसर उस्तै थियो । समाजमा छोरीको भन्दा छोराको स्थान उच्च ठानिने मानसिकता पनि त्यति नै तीब्र थियो । छिमेकी भारतमा पनि लामो अङ्ग्रेजी उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेर नयाँ युग प्रवेश गरेको भए पनि सङ्क्रमणबाट मुक्ति पाइसकेको थिएन । सङ्क्रमणकालीन राजनीति र सामाजिक उथलपुथलबाट स्थिरता बनिसकेको थिएन ।
नेपालको अवस्था पनि त्यस्तै थियो– राणा शासन सकिए पनि दिल्ली सम्झौताबाट टुङ्गिएको सम्झौता अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर कै प्रधानमन्त्रित्वमा नेपाली कांग्रेस सम्मिलित सरकारमा पुगेर टुंिगिएको थियो । राजा त्रिभुवन र नेपाली काङ्ग्रेस दुवैले भारतीय मध्यस्थतामा प्रजातन्त्रको घोषणा गरेर आन्दोलन रोकेको कारण हर कुरामा भारतीय हस्तक्षेप र निर्णायक उपस्थिति बढेको समय थियो । त्यो अवस्थाले राष्ट्रिय स्वाधीनतामाथि दीर्घंकालीन प्रभाव भित्र्याइरहेको थियो । यसैले मुलुकभर परिवर्तन र अनिश्चितता दुवैको अवस्था थियो ।
सामान्य जनताले परिवर्तनको लाभ प्राप्तगर्न सकेको थिएन । न त प्राप्त गर्ने कुरामा नै उनीहरू ढुक्क थिए । त्यसको फाइदा असामाजिक तत्वहरू र यथास्थितिवादी शक्तिका समर्थकहरूले उठाउनु स्वाभाविक थियो । हिजोजस्तै सुविधाभोगी केही लाभ नै लाभमा थिए, र सन्तुष्ट थिए । उनीहरूको दृष्टिमा त्यही नै सम्पूर्ण क्रान्ति थियो । पूर्ण परिवर्तन थियो र, थियो समाजवादी प्रजातन्त्रको प्राप्ति ! उता बहुसङ्ख्यक श्रमजीवी नेपालीको अवस्थामा कुनै सुधार आएको थिएन । अर्कातिर बहुसङ्ख्यक श्रमजीवी नेपालीको अवस्था राम्रो थिएन । प्रजातन्त्रको प्राप्ति उनीहरूका लागि कौवालाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै थियो । फलस्वरूप शान्ति सुरक्षाको स्थिति ठिक थिएन । राजनीतिक सङ्क्रमण थियो र एकथरी शासकीय वृत्त नजिककाहरू सबै हामी नै हौं, परिवर्तन हाम्रौ लागि मात्र हो भन्ने मानसिकतामा सामान्य जनतालाई नगन्ने स्थितिमा पुगेका थिए । जतासुकै तिनकै ब्रह्मलूट थियो ।
त्यही कारण लुटपाट, चोरी डकैती र खुकुरी दलजस्ता केही समूहको बोलबाला थियो । सहर र गाउँका जनता त्राहीमाम थिए । कतिबेला खुकुरी दलक नाउँमा खुकुरीधारीहरू आएर निरिह जनतालाई लुट्ने हुन्, थाहा हुँदैनथ्यो । मानिस हर पल त्राशमा बाँचिरहन बाध्य थिए । त्यसको फाइदा असामाजिक तत्वहरू र यथास्थितिवादी शक्तिका समर्थकहरूले उठाउनु स्वाभाविक थियो । त्यही कारण लुटपाट, चोरी डकैती र खुकुरी दलजस्ता अराजक र असामाजिक समूहको बोलबाला बढिरहेको समय थियो त्यो । शहर र गाउँका जनता त्राहीमाम थिए । कतिबेला खुकुरी दलको नाउँमा खुकुरीधारीहरू आएर निरिह जनतालाई रेट्ने हुन्, थाहा हँुदैनथ्यो । मानिस हरपल त्राशमा बाँचिरहन बाध्य हुन्थे । रातमा गाउँ शहरका मानिस टोल टोलमा सुरक्षादल बनाई आफ्नो सुरक्षा आफैं गर्न खटिन्थे– सरकार निरिह थियो, वा सरकार नजिकैबाट यस्ता गतिविधि भइरहेको हुन्थे, कसैलाई थाहा थिएन ।
गाउँघरका किसानहरूको मानो रोपेर मुरी फलाउने चटारोको समय । त्यही खेती बाट आउने धेरथोर उब्जनी नै थियो रे त्यतिबेलाको मेरो घरको पनि नूनतेल र भोक टार्ने प्रमुख आयस्रोत । घरमा एक्ली आमा । साथमा काखकी तीन वर्षे जेठी छोरी । घरमूली पिताजीको धेरैजसो समय घरबाहिर शहरतिरै बित्ने । बाजे केही वर्ष अगडि नै बितिसक्नुभएको थियो । बज्यैको त बाबाले नै अनुहार देख्नुभएन । जन्म दिनासथ उहाँ बित्नु भएको रे । त्यसैले खेतीपाति समेत हेर्ने जिम्मे आमाकै काँधमा हुन्थ्यो रे । काम खेतालाले गरे पनि खाजा पानीका साथै अरु सबैै व्यवस्था त मिलाउनै पथ्र्यो ।
नेपाली राजनीतिमा पहिलो प्रजातान्त्रिक आन्दोलनले ल्याएको उज्यालो घाममा फैलिएको सङ्क्रमणको कालो वादल मडार्रिइरहेको ठिक त्यही अस्थिर कालखण्डको एउटा घडीको रुन्चे साँझमा एउटा जीवले यस संसार र पाइलो हाल्यो ! राणा शासन समाप्त भएर भारतलाई साक्षी राखी प्रजातन्त्रको घोषणा भएको लगभग साढे चार महिना पछिको एक साँझ थियो त्यो ! समयभन्दा अगाडि नै अँध्यारो देखिएको त्यो असार तेस्रो पाउको साँझ दिनभर खेतमाको हिलोसँग खेल्दै रोपाइँको सुन्दर सिर्जनाबाट थाकेर गाएँका किसान, खेताहरू भर्खर भर्खरै घर फर्केका थिए ।
यसरी बिस्तारै घरतीले अँध्यारोको घुम्टो ओढ्दै थियो । आकाश पानी भरिएको काला मनसुनी वादल बोकेर धरतीलाई भिजाउन आतुर थियो ! घना बालले ढाकेर समयभन्दा अगाडि नै अँध्यारो देखिएको त्यो असारको ओसिलो साँझ । आरुबारीको एउटा काँचो इँटाको दुईतले परालले घरका मनिसले त्यतिबेला रातीको खाना खाना पनि पाएका थिएनन् सायद् । त्यही बेला साँझ आठ बजेतिर (त्यतिबेलाको समयचेतमा ठूलो जहानले भात खाने बेला) अर्थात् ठूलो जहानले रातिको “भात” खाने समयमा सुशीला चालिसेको गर्भबाट एउटा बालकले यस धरतीमा पदार्पण ग¥यो । त्यो दिन थियो २००८ सालको असार महिनाको २२ गते शुक्रबार ! यसरी हनुमानढोकाबाट ११ किलोमिटरजति उत्तरपूर्वको त्यस परम्परागत गाउँका निम्नमध्यमवर्गीय परिवारका रामेश्वर शर्मा चालिसे र सुशीला चालिसेको तेस्रो सन्तानका रूपमा यस धरतीमा पदार्र्पित त्यो शिशु मैं थिएँ, अर्थात् आजको विजय चालिसे !
××× ×××
ठिक समयको लेखा त कसले राख्ने ? हाम्राजस्तो परिवारमा कसै कसैकहाँ मात्र घडी हुृन्थ्यो । अन्दाजको भरमा समयको निक्र्योल गर्नुपथ्र्यो । त्यसैले मेरो जन्मको घडीपला अन्दाज कै भरमा अनुमान गरिएको थियो । असारको रात थियो । चारैतिर मकैबारीले ढाकेर चाँडै नै अँध्यारो देखिन्थ्यो । आकाश बादलले ढाकेर शुक्लपक्षको चन्द्रमाको अस्तित्व कतै न देखिँदा अँध्यारो झनै गाढा भएको थियो । कच्ची माटो र परालका छानाले छाइएका आठ दशघरको सानो गाउँ त्यो अँध्यारोको छायामा छोपिने तर्खरमा थियो । ठूलो जहानको घरमा रातीको खाना खाएर घरधन्दा समात्ने तर्खर हुँदैथियो । त्यसैले त्यतिबेला घरगाउँका बुज्रुगहरूले आठबजेको अन्दाज गरेका होलान्, मेरो जन्म समय ।
मेरै टोलका मभन्दा आठ–नौ वर्षले जेठा लक्ष्मण रुपाखेती सम्झन्छन्– बा, भर्खरै साँझको आरती गर्दैहुनुहुन्थ्यो । मेरो उमेर पनि त्यस्तै आठ वर्षको होला । मँ सँगैको अगेना छेउ बसेको थिएँ । आँखा बाले गरेको आरती तिरै थियो । आरतीभन्दा पनि बाले आरती सकेर दिने मीठो नैवेध्यको प्रतीक्षामा थिएँ । बाहिर कसैले खुशी र अत्यास मिसिएको स्वरमा बोलाएको सुनियो– भिनाजु….ए, भिनाजु….! छोरो भयो…छोरो भयो !
त, त्यो हर्ष र हतास मिसिएको चर्को स्वरले नैबेद्य पर्खेर बसेका लक्ष्मणको मात्र होइन, शङ्ख घण्ट बजाउँदै आरतीमा डुबेका उनका बा अर्थात पण्डित भीमनाथ रुपाखेतीको पनि ध्यान भङ्ग हुन पुगेछ । ढोका खोलेर हेर्दा त्यो खुशीमा अताल्लिएको स्वर रहेछ मेरो ठूलो बाको । मेरो जन्म हुनासाथ खुशीले अताल्लिँदै ठूलोबा मेरो जन्मसमय, जन्मतिथि, लग्न, हेराउन त्यहाँ पुग्नु भएकोरहेछ ।
यस भेगमै ंकहलिएका पण्डितबाजेको घर मेरो घरको उत्तरतिर एक घर पर थियो । बीचमा बारीको ठूलो पाटो लमतन्न फैलिएको थियो । उहाँको बिहे हामै्र पुरेत खलककी कन्यासँग भएको थियो । ती दिदीलाई मेरा बाजेले कन्यादान गर्नु भएको थियो रे । त्यसैले उहाँहरूलाई पछिसम्मै ज्वाइँ छोरीकै व्यवाहार पनि गर्दै आएको थियो मेरो परिवारले । बाबा, ठूलोबाहरूकै सिको गरेर हामीपनि लक्ष्मणकी आमालाई पण्डित्नी दिदी र बालाई पण्डित भिनाजु भन्थ्यौं । जे होस, पण्डित बाजेले पनि मेरा ठूलाबा खुशीले अताल्लिँदै गएको त्यो समयलाई आठ बजेकै आसपास हुनुपर्ने अनुमान गर्नु भएको कुरामाका लक्ष्मणले पनि पुष्टि गरेका थिए ।
“ म कहिल्यै बिर्सन्न, बौदली दाइको त्यो खुशीले अताल्लिएको स्वर !” लक्ष्मण अहिले पनि बेला बेलामा भन्ने गर्छन ।
त्यति बेलासम्म ठूलोबाको परिबार बौद्ध बस्ने भएपनि ठूलोबा र काका प्राय आरुबारी मैं बस्ने गर्नुहुन्थ्यो रे । हुन त मेरो बाजेको कुलमा मभन्दा अगाडि मेरा दुईजना दिदीहरूको जन्म भइसकेको थियो । दिदी र मभन्दा बीचकी दिदी म जन्मनु अघि नै मृत्युको मुखमा पुगिसकेकी थिइन रे । दिदी मात्र होइन, ठूलोबा र ठूली आमाका पनि छोरा थिए, मभन्दा जेठा । त्यसैले मेरो कुलको म पहिलो सन्तान थिइन । तर मेरो समाजको मान्यतामा मरेपछि पिण्ड पानीका लागि सजातीय सम्बन्धबाट जन्मेकै छोरो चाहिन्थ्यो । त्यसैले दिदीभन्दा पछाडि नै जन्मेपनि म कुलका पित्रीउद्धारक थिएँ, उनीहरूलाई पिण्ड पानी दिने पहिलो सन्तान ! ठूलोबाको आफ्नै मभन्दा जेठो छोरो भएपनि विजातीय पत्नीतर्फका सन्तान भएकाले मेरा ती दाइको हातबाट पिण्ड पानी स्वीकार्दैनथ्यो त्यो सङ्कीर्ण समाजले । त्यसैले परिवारमा खुशी फैलनु स्वाभाविक थियो । आखिर उहाँको पिण्ड पानीको आधार पनि त मैं थिएँ । सिंगो घर खुशीमा रमाएको थियो । यसरी निम्नमध्यमवर्गीय परिवारका रामेश्वर शर्मा चालिसे र सुशीला चालिसेको तेस्रो सन्तानका रूपमा यस धरतीमा पदार्पित त्यो शिशु मैं थिएँ,– त्यतिबेला डाकुरनाथ । न्वारनको दिन पुरेतले जुराएको नाउँ थियो डाकुरनाथ । धार्मिक कार्यहरूमा अझै बोलाइन्छ ‘ड’ अक्षरबाट जुराइएको यो नाउँ ! अर्थात् जीवनको उत्तरार्धतिर झर्दैगरेका आजको विजय चालिसे !
(लेखिँदै गरेको आत्मजीवनीको पहिलो अंश)