सपनाको चिहान !

Sapana ko Chihan(नवप्रज्ञापन ८४, वैशाख–असार २०७६ बहुभाषा कथा विशेषाङ्कमा प्रकाशित नयाँ कथाको फाइल प्रति । )
“आमा….आमा….” सानी छोरी सविता दौडँदै आएर मिश्रीलाई गम्लङ्ग अँगालो हाली । छोरीको त्यही मायालु अँगालो उसका लागि चोट लाग्नुको कारण बन्यो । एक धुनमा उसकै फाटेको घाँगर सिइरहेकी मिश्रीको हात हल्लँदा सियोले नराम्ररी आंैलामा घोच्यो । चस्स – उसको आप्mनै वर्तमानले जस्तै !
“ल…खा….” त्यही पीडामा रन्थनिएकी मिश्रीको हात निर्दोष छोरीको गालामा चड्कन बनेर बज्रियो । छोरीको कलिलो गालामा अबिर छरिएजस्तै रातो डाम बस्यो । त्यससँग गुञ्जियो उसको करुण रूवाइ ! त्यो चर्को रूवाइले कोठा भरियो र चिर्दै गयो आमको कोमल हृदय । छोरीको रूवाइसँगै पश्चातापको पीडाले पनि प्रहार ग¥यो उसलाई “म पनि, के नै गल्ती थियो र यस निर्दोषको ? बिनसित्ति रिस पोख्छु कहिलेकाहीँ । के पो भन्न आइथी कुन्नि ?”
छोरीको चित्तदुखाइबाट निस्केको रूवाइ स्वरसप्तकबाट क्रमशः घुँक्क घुँक्कको मलिनगति लयमा पुगेर अडिनुसँगै उनको ममत्व पनि पग्लिँदै गयो । सियोको घोचाइले जन्माएको आवेगजन्य रिस कपुर झैं उडेर हावामा विलिन भइ सकेको थियो । मिश्रीको आँखामा छोरीसँग प्रतिस्पद्र्धा गर्दै आँसुका बाग्द्वार बगे । सियोले घोचेको सानो घाउबाट बगेको रगत हावाको स्पर्शले सुकाउँदा नसुकाउँदै घोचाइको पीडा हलुको भयो । छोरीमाथिको रिस त अगि नै बाफ बनेर उडिसकेको थियो !
“नरोऊ, छोरी नरोऊ….! हेर त तिमीले त्यसरी झ्याम्मै अँगालो हाल्दा मेरो औंलामा कसरी सियोले घोच्यो ? यी हेर त औंलामा घाउ नै लाग्यो । त्यसै भएर पो….।” त्यसभन्दा बढी शब्दै निस्किएन आमाको कोमल मन पग्लिएर मुखबाट । बरु छोरीलाई आफूतिर तानी र काखमा सुताएर आँसु पुछिदिँदै शिर सुम्सुम्याउन थाली मिश्री ।
यही एउटै त हो उनको रगतको निशानी ! यसले जन्म लिनुभन्दा दुई महिनाजति अगि लोग्नेले घर छाडेका । एकडेढ महिनामैं फर्कन्छु भनेर जङ्गल पसेका, कहिल्यै फर्केर आएनन् । यसको त म्ुखसम्म पनि देख्न पाएनन् !
साहूको जग्गामा सानो छाप्रो हालेर गुजारा गर्दै आएको जुठे विश्वकर्माको दुईजनाको परिवार दुखसुख जीवन बिताइ रहेको थियो । त्यही छाप्रोको बाहिर पालीमुनि सानो आरन थियो । आरनमा एउटा सानो खलाँती, गोलको थुप्रो र पानीले भरिएको एउटा सानो डोबिल्को । डोबिल्कोको छेवैमा फलाम चुट्ने साना ठूला दुई चारवटा घन र आवश्यक अरु औजार ।
अहिले पनि मिश्रीलाई झझल्को आउने गर्छ, सविताका बाबु त्यहीँ छन् र ऊ उनकै छेउमा बसेर खलाँती तानेर र्भराउँदो आगोमा हावा दिइरहेकी छ ! पूर्वस्मृतिका रमाइला क्षण समय समयमा सिनेमाको रिल झैं दोहोरिएर आउँथे । ती स्मृति र दृश्य सम्झँदा उसका आँखाबाट आँसुको धारा निस्कन्छन् र पछि तिनै जलधारामा ती सुखद स्मृति बगेर विलिन हुन पुग्थे ।
छोरी सविता जन्मेकै थिइन । भर्खरै बिहे भएर लेग्नेको घर पसेकी थिइ । सासू ससुरा जूठेलाई अगाडि नै अनाथ बनाएर अनन्तमा विलाइ सकेका थिए । ऊ भित्रिँदा घरमा जिवात भन्नु जूठे र ऊ आफू मात्रै थिए । त्यसैले यो घर अर्थात छाप्रोमा तिनै दुई प्राणी भविष्यको सुन्दर सपना बुन्थे, त्यही सपनाको महलमा खुसी खुसी वर्तमानको अभाव सहन्थे ।
मिश्री अहिले त यति सुन्दर र आकर्षक देखिन्थी भने त्यतिबेला झन् कस्ती थिई, भन्नै परेन । उसको धप्प बलेको उज्यालो अनुहारको आकर्षण नै बेग्लै थियो । हल्काफुल्का आकर्षक कदकाठीकी थिई मिश्री । उसको त्यो रूप सौन्दर्य देखेर जूठे लट्टु हुन्थ्यो । त्यसमाथि आगोको रापले अबिर दलेझैं रातो देखिने पुष्ट गाला र खलातीमा हावा दिन दुवै हात लयबद्ध गतिमा चल्दा नाच्ने अङ्गप्रत्यङ्गका मादक कम्पन देखेर त झन् भुतुक्कै हुन्थ्यो जूठे । हुन पनि टन्न कस्सिएको चौबन्दी चोलोमा पट्ट फुटेर बाहिरै निस्केला झै लाग्ने उसका पुष्ट छात्तीको लयबद्ध उफानले उसलाई मोहित तुल्याउँथे ।
विगतमा हराइरहँदा लोग्नेको त्यो सम्मोहित अवस्था सम्झेर अहिले पनि ऊ लाजले मुस्काउँथी । आफैंलाई सम्मोहित एकोहोरो हेरिरहेको लेग्नेलाई देखेर उसको मुखबाट प्रेमिल गुनासो निस्कने गथ्र्यो – “के क्वारक्वार्ती हेरिएको । लाज पनि नभएको मान्छे !”
“अरुलाई होइन त, आफ्नै घरिणीलाई हेरेको त हो नि !” मसक्क मस्किँदै मुस्कान सहित आउने स्वास्नीको मादक जवाफले जूठे कृतकृत्य बन्थ्यो ।
आरनको भित्तामा कतै ठड्याएका, कतै झुण्ड्याइएका हुन्थे तिनका सीप, पसिना र सुन्दर भविष्यप्रतिको सपनाको प्रतिफल । तिनमध्ये केही उध्याउन–साँध लाउन भनी ल्याइएका बिष्टहरूका घरायसी खेतीकिसानीका सामान हुन्थे । कुनै कुनै माग अनुसार बनाइएका नयाँ हँसिया, कोदालो, खुर्पा, खुकुरी आदि । कहिले काहिँ गाउँका मुखियाको दुई नाले बन्दुक विग्रेमा मर्मत गर्ने जिम्मा पनि जूठेकै हुन्थ्यो । ती सबै सीप उसले आफ्नै बाबुबाट पैतृक रूपमा पाएको थियो ।
ऊ सम्झन्छे, बिहे भएको वर्षदिन पनि पुगेको थिएन, गाउँमा नयाँ खालको हलचल शुरु भयो । माओवादीले आन्दोलन चलएका छन् रे भन्नेसम्म त उनीहरूले पनि सुनेका थिए, के हो माओवादी आन्दोलन भन्ने चाहिँ दुबैले बुझेका थिएनन् ।
गाउँमा दिउँसो पुलिसहरू बाक्लै देखिन थालेका थिए, रात साँझ एकान्तमा गाउँकै केकेटीका साथ अपिरिचत नयाँ अनुहारहरू । उसको आरनमा पनि ती मान्छे खेतीकिसानीका सामान बनाउने वा मर्मत गर्ने बहाना गरेर आउँथे । यो क्रम क्रमशः बढ्दै गएको थियो । तिनका साथ लागेर वल्लापल्ला गाउँकै चिनारु युुवा युवती पनि आउँथे । ती नचिनेका मान्छे भने जोकोहीको अगाडि पर्दैनथे । सकभर सतर्क भएर हिँड्थे । कहिलेकाहीँ त रात छाप्रैमा बस्ने गरी पनि आउँथे ती नयाँ मान्छे । तीमध्ये एकजना होचो कदकाठीको चुच्चे अनुहार भएको मान्छे रात बिताउन बाक्लै आउँथ्यो । त्यस्तो बेला यताउता छरिएर अरु केही मान्छे सतर्कतापूर्वक छाप्रोको निग्रानी गरिरहेका हुन्थे । मिश्री घरमैं भएको रुखासुखा बनाएर ती अपरिचित अनुहारलाई ख्वाइप्याइ गर्थी । उनीहरू आफू भोकै बसेर पनि तिनको सेवा गर्थे । तिनको सुरक्षाको ख्याल राख्थे ।
ती नयाँ मान्छे सुरुमा सुखदुःखका बात मार्थे र बिस्तारै हामीजस्ता मान्छेले ले दुख पाउनुको कारण खोतल्थे । गाउँघरमा जूठे मात्र होइन, ऊजस्ता अरु युवा–युवतीको मन पगाल्ने कोसिस गर्थे ।
नयाँ मान्छे आएको देखे कि गाउँकै सुराकीहरू कुरा धुत्न आउँथे । तिनकै सूचनामा होला पुलिसका मानिसले आएर पटक पटक सोधखोज गर्थे । कतिपल्ट त जूठेलाई पुलिस चौकी नै बोलाएर समेत केरकार गरे ।
“ल भन् माओवादीको कुन कुन नेता चिन्छस् ? तेरो आरनमा को को आउँछन् माओवादी आतङ्ककारी ?”
“म के जानूँ हजूर, वारि पारि गाउँका बिष्टहरू कुटो कोदलो बनाउन आउँछन् । कति चिनेका हुन्छन्, कतिलाई चिन्दिन । नचिने पनि तिनको काम गर्दिन भन्न मिले । त्यसमाथि आएको काम नगरेर के खाने हजूर ?” जूठे यस्तै यस्तै जवाफ दिएर मुखबुझो लाउँथ्यो । ती सुरक्षाकर्मीले जतिसुकै गरे पनि उसको मुखबाट कुनै कुरो खुस्कँदैनथ्यो ।
मिश्रीलाई पनि ती मान्छे खराब होलान् जस्ता लाग्दैनथे । उनीहरू ऊजस्तै हेपिएका चुसिएका मान्छेकै असल भविष्यको कुरा गर्थे । खराबको बिरुद्ध सबैजना जाग्नु पर्छ भन्थे । त्यसैले मिश्री र उसको लोग्नेले पनि तिनको गोप्यता राख्ने काममा भरपूर साथ दिएकी थिई । आपत पर्दा कहिलेकाहिँ उनीहरू सुरक्षाकर्मीबाट बच्न भनी भेष बदलेर पनि आउँथे । त्यतिबेला उनीहरू तिनलाई छाप्रो पछाडिको जुठेल्नो छेउ सुंगुरको खोरमा लुकाएर जोगाउँथे । त्यो थाहा पाएको भए पुलिसले गोली हानेर माथ्र्यो । वल्लोपल्लो गाउँमा कति मानिसको त्यसरी नै ज्यान गएको थियो ।
“होइन, तिम्लाई के भएको छ बूढा, नूरै गिरेजस्तो देखिन्छौं !” स्वास्नीसँग मनका सबै गाँठो खोल्ने जूठे केही दिनदेखि एक्लै केके सोचेर बस्ने गरेको देख्दा मिश्रीले उसको मनको सकस कोट्याउने प्रयास गरेकी थिई । त्यसपछि पो बल्ल जूठेले मनको गाँठो फुकायो । बल्ल बुझी– ऊ त जङ्गल पस्ने मन पो बनाउँदै रहेछ !
“हेर् बूढी, म पनि पो पसौँ कि क्या हो जङ्तिर ? कतिसम्म बाँच्ने यिनको कहर काटेर ! आफू मरे पनि भोलि जन्मने सन्तानले त सुख पाउलान् ।” मिश्री सम्झन्छे, जङगल पस्नुभन्दा केही अगाडिको एक साँझ जूठेले अकस्मात भनेको थियो । सुराकी र सुरक्षाकर्मीको तारन्तारको आऊजाउ पनि बढिरहेको थियो । माओवादी आन्दोलनकै कारण खुकुरीजस्ता हतियार बनाउने काममा पनि पुलिसले रोक लगाएकोले कमी आउन थालेको थियो । मान्छे घर बाहिरै निस्कन डराउँथे, त्यस्तोमा काम लिएर आउने बिष्टहरू पनि दिनहुँ घट्दै थिए । तातो रगतका जोशिला युवा युवती एकपछि अर्को गर्दै जङ्गल पस्न थालेपछि खेती किसानी गर्ने मान्छे पनि रित्तिँदै थिए । एक प्रकारले गाउँको हालत बाँच्न नसकिने बन्दै गएको थियो । त्यही स्थितिमा जूठेले पनि संसार बदल्ने माओवादीको सपनामा सहभागी बन्न जङ्ल पस्ने अठोट गरेको थियो ।
अगाडि उसले कुरा नखोल्नुमा मिश्रीले रोक्ली भन्ने डर थियो होला । त्यसमाथि एक्ली दोजिया स्वास्नीलाई असहाय छाडेर जङ्गल पस्छु भन्ने आँट जुटाउनु पनि कम मुस्किल थिएन !
‘हो त कति कहर काट्ने सँधैँ रगत मात्र चुस्ने यी जुकाहरूको ! सन्तानले सुख पाउँछन् भने एक जुगको जुनी हो, गए जाला !’ तिनका कुरा सुन्दा ऊ त यस्तै सोच्थी भने जूठे त सँधै अभावको पीडामा पिल्सिएको युवक । जूठेमा यस्तो विचार किन नआओस् । कति दिन यसरी बाउबाजेदेखि भोग्दै आएको शोषण र थिचोमिचोको घनचक्करमा बाँच्नु ? त्यो भन्दा त त्यतै पो लाग्ने हो कि भन्ने लोग्नेको विचारलाई उसले अन्यथा लिइन ।
तिनका जोशिला कुरा सुनेर यस्तै कहर काट्दै आएका अधवैंसे र नयाँ युगको सपना हुर्काइरहेका युवायुवतीहरूको रगत त झन् कति उम्लँदो हो । त्यसकै परिणाम नयाँ सत्ताको निर्माण गर्ने सपना बोकेर उसको गाउँबाट पनि युवायुवतीहरू बिस्तारै एक पछि अर्को गर्दै जङगल पस्ने क्रम बढ्दै थियो ।
नयाँ सत्ताका तिनै मानिसहरूको बारम्बारको कुराले जूठेको मनमा पनि हलचल मच्चाइ दिएको थियो । उसको आफ्नो भन्नु धरतीको एक चौटो थिएन । भएको एक टुक्रा घडेरी बारी बाबु छँदै ऋण वापत भनेर साहूले उहिल्यै खोसी हाल्यो । त्यही साहूको चाकरी गर्ने सर्तमा सानो छाप्रो ठड्याउन पाइएको छ । त्यहाँबाट पनि कहिले उठिबास लाग्ने हो, के ठेगान !
“होइन, के भन्छन् यी ? सुखदुखः गरौंला नि किन आत्तिन्छौ ?” सोच्न जति सजिलो छ, भोग्न त्यत्तिकै कठिन् । त्यसैले लोग्नेको जङ्गल पस्ने कुराले मिश्रीको मनमा ठूलै पहिरो गएको थियो । गाउँमा जङ्गल पसेका केटाकेटीका धेरै आफन्तले तिनलाई गुमाएको खबर दिनहुँजसो आइरहन्थ्यो । त्यसैले पनि बरु अत्याचार सहेरै होस्, दुःखजिलो मैं जीवनको सुख खोज्ने सोचाइलाई उसले लुकाइन ।
“हुन त हो, तर बाँच्नै नसकिने भएपछि के पो गर्नु र बाबै ? बाउ आमा पहिल्यै बितिहाले । माटो कोरेर खाउँ भने पनि केही छैन । भएको ठूलाघरेले आफ्नो बनाइहाले । त्यसमाथि अब त नयाँ सन्तान समेत थपिँदैछ ।” जूठेले जिकिर गर्दै जङ्गल पस्नुपर्ने वाध्यताको परिपाठ लगाएको थियो । “त्यसैले ती नयाँ मान्छेले भनेजस्तै आफू नभए पनि सन्तानले सुखसाथ बाँच्न पाउन भन्न कै खातिर पनि यत्तिकै बसेर भएन त ! मलाई नरोक, दुःखसुख गर्दै जानू, केही पछि त आइहाल्छु नि !”
त्यसरी लोग्ने नयाँ नेपालको निर्माण गरी सन्तानको भविष्य सुखी बनाउने सपना बोकेर युद्धमा होमिएको थियो । त्यसै बीच छोरीले धरती टेकी । बाबुको अनुहार देख्न नपाउँदै एकजना मान्छेको हात खबर आयो– जूठेले सहादत प्राप्त ग¥यो । खबर सुनेर मिश्री बेहोस् भएर लडेकी थिई । कति दिनसम्म त ओछ्यान परेर उठ्नै सकिन । उसको जीवनमा अन्धकार छायो । केही समयपछि आउने वाचा गरेर गएको लोग्नेले वाचा बिर्सियो ।
उसमाथि त्यो बिछोडको बज्र खसेको पनि आठ वर्ष भएछ । त्यसबीच लोग्नेले सहादत प्राप्त गरेकै पार्टीको सरकार बन्यो । पार्टी सरकारमा गएपछि आशा पलाएको थियो, कमसेकम अब त सरकारले उसको खोजीनिधी गर्ला । जीविकाको केही व्यवस्था गरिदेला, बाँच्नका लागि केही आधार जुटाइदेला ! अरु पनि नयाँ नेपाल बनाउँछु भन्ने कम्युनिष्टकै सरकार पटपक पटक बन्यो । नयाँ नेपाल बन्या, बनेन थाहा छैन । ऊ ऊजस्ताको कष्ट, शाोषणा, र पीडा भने उस्तै रह्यो । हिजो एकथरीले सताउँथे, आज अर्को थरीले । परिवर्तन यत्ति नै थियो उसको लागि ! गाउँमा हिजो उसको घरमा को को आउँछ भन्दै चियो बसेर सुराकी गर्नेहरू के के भए रे भन्थे । उसका दिन उस्तै रहे, सुकुम्वासीको सुकुम्बासी नै !
“आमा, हामी कहिले जाने बजार ? पल्ला घरे सविता दशैं आइसक्यो भन्थी । कति राम्रा राम्रा लुगा ल्या’की उसले । आमाँसग बजार गएर किनेकी रे !” केही बेर अगि सियोको घोचाइको झोकमा आबाबाट खाएको झापडको चोट बिर्सीकेकी थिइ छोरीले । त्यसैले उसको काखमा घोप्टिँदै अबोध छोरीले राखेकी माग सुन्दा मिश्रीको मुटु कटक्क काटियो । हो त अरु बिष्टका छोराछोरीले नयाँ लुगा लाएको मीठो खाएको देखेर त्यसै गर्ने बालसुलभ चाहना न हो उसको ? तर के गरी पूरा गर्ने । उसले नसोचेकी होइन । त्यही सोचेर आफ्नै र बिष्टिनीहरूले दिएका थोत्राथाम्रा जडौरी धोती सिएर घाँगरचोली बनाइदिएकी थिई । तर अरुको देखेर जन्मेको छोरीभित्रको नयाँ लाउने चाहना कसरी पूरा गर्न सक्थी र ऊ ! जसोतसो आरन र ज्यालाबुनी गरेर पाउने दुईचार पैसो खोलेफाँडो पु¥याउनै ठिक्क थियो । के पो गरोस् !
छोरीको जायज माग सुनेर रन्थनिएकी मिश्रीले गाउँकै पार्टीका मान्छेसँग आफ्नो मनको दुःख पोखी । तिनैमध्ये उसप्रति सहानुभूति राख्ने एकजना गाउँ तहका नेताले उपाय सुझाए । उनकै साथ लागेर ऊ छोरी समेत लिई ठूला नेतासाग दुःख बिसाउन भनी काठमाडौं आएकी थिइ । अरु त कता लैजाउन्, हिजो गाउँ ठाउँ र जूठेको छाप्रोमा सेल्टर लिएर जिऊ जोगाउने एकजना ठूलै नेता कहाँ लिएर आएका थिए उनले यतिबेला । नयाँ ठाउँ, न बस्ने ठहर न दुःख बिसाउने कोही आफन्त ! गाउँबाट सापटी गरेर ल्याएको दुइचार सयको भरमा पहिलोपल्ट नेपाल छिरेकी मिश्री कुहिरोको काग बनेकी थिई त्यो ठूलो सहरमा ।
जे होस्, तिनै गाउँ तहका पार्टी नेताको सहयोगमा पहिले चिनेका ठूला नेताको दरबारजस्तो निवास पुगेका थिई मिश्री । गाउँ, नाउँ, ठाउँ र सबै आफ्नो विवरण सहित भेट्ने कारणका साथै लोग्नेको सहादत बारे बेलीबिस्तार लाएपछि बल्लबल्ल ठूलो गेटको पुलिसजस्तो लाग्ने मान्छेले भित्र पस्न दिएको थियो । अग्लो पर्खालको घेरा छिचोलेर भित्र पस्ने अनुमति पाएर पर्खालको घेराभित्र पुगे पनि मिश्रीलाई घरबाहिरै रोकियो । उसँगै पर्खालभित्र पस्ने अरु भने बिना रोकटोक घरको ढोकाभित्र आउने जाने गरिरहेका थिए ।
त्यो देखेर मिश्रीको मन अमिलियो । हिजो आफ्नै हातले बनाएर ख्वाएको खाना स्वाद लिएर खाने तिनै नेता भन्थे “बुझ्नुभो’ यो छुवाछूत भन्ने कुरा सामन्तहरूले गरिखानेलाई दबाउन सिर्जना गरेको हतियार हो । यसको डटेर बिरोध गर्नु पर्छ ।” तर आज….? यति छिटै बदलिएका हुन् त नेताजी ? मनभरि विभिन्न प्रश्न उठेका थिए ।
त्यही बाहिर आँगनजस्तो खुला ठाउँमा राखिएको एउटा सानो बेञ्चमा बसेर पर्खनुको विकल्प थिएन । चर्को घाममा नेताजीको पट्यारलाग्दो प्रतीक्षा गरुन्जेल पनि उसको मनमा झिनो आशा र विश्वास छँदै थियो । लाग्थ्यो– पक्कै उसलाई नचिन्ने अरुले गरेको व्यवहार होला यो । नेताजीले देखेपछि नचिन्ने कुरै छैन् । भेटेपछि दुःखसुखका भलाकुसारी गर्ने छन्, लोग्नेको बारेमा सोधीखोजी गर्ने छन र दुःख बिसाएपछि पक्कै न्याय पाउनेछ उसले ! यही झिनो आशा बोकेरै त अनेक कष्ट सहँदै यहाँसम्म आइपुगेकी की थिइ ।
भित्र बाहिर गर्नेको भीड बाक्लै थियो । ती सबै सुकिलामुकिला देखिन्थे । त्यसैले ती मानिस उसलाई उपेक्षाभावले क्वारक्वार्ती हेर्दै भित्र बाहिर गर्थे ।
समय बित्दै बित्दै गयो । दिन ढल्किँदै गयो । तर नेताजीलाई भेटेने उसको सपनाले अझै मूर्त रूप लिन पाएन ।
“हरेस नखानोस् कमरेड, जरुरी काम सकेर नेताजीले पक्कै बोलाउनु हुन्छ । अनि त सबै ठिक भइहाल्छ नि !” सँगै साथ लागेर आएका गाउँका साना नेता उसलाई ढाढस दिइरहेका थिए । मिश्री भने आफूप्रतिको त्यो उपेक्षा देखेर आफैंभित्र बारुद बनेर सल्कँदै थिई ।
लामो समयको प्रतीक्षापछि बल्ल भीड केही पातलियो । आगन्तुकहरू निख्रँदै गए । उसको धैर्यको बाँध टुट्दै थियो, घरभित्रबाट केही चिने चिनेजस्तो एउटा अनुहार बाहिर निस्कियो । तिनै थिए उसले पहिले चिनेका नेता । ठम्याउनै मुस्किल पर्ने गरी मोटाएछन् । पहिलेका दुब्ला ख्याउटे नेता अहिले चिन्नै नसकिने भएछन् । के पो चिनोस्, डम्म फुलेको भूँडीमा टकटकाउँदो पोशाक । आँखामा चम्चमाउँदो चश्मा, रोबपूर्ण व्यवहार । उसलाई भ्रम भयो कतै गाउँकै मुखिया–जमिन्दारका छोरा त ह्वैनन् यी, उस्तै पो देखिन्छन् !
जे होस्, जुन रूपमा होस् नेताजीलाई देखेर मिश्रीको मनमा केही आशा पलायो ।
“ओहो, नेताजी भेट्न भनेर आफै तलैसम्म झरेछन् । अब अवश्यै मेरो दुःख हरिने छ !” अगिसम्म अछूत भनेर भित्र नबोलाएको ठान्दै सल्किएको उसभित्रको आगो यो सोचेर खुसीले बुझ्दै गयो । यस अगि नेताजीप्रति उब्जिएको नकारात्मक सोच कता बिलायो, कता ।
उसको छेवैमा आइपुग्न लागेका नेतजीलाई साथै झरेको सहयोगीले उसतिरै देखाएर जानकारी दियो, “हजूरलाई भेट्न भनेर एउटी महिला आएकी छन् । आफूलाई शहीदपत्नी भन्छिन् हजूर ।”
“ल छिटो भन्नोस्, के कुरा हो ! मलाई हतार छ ।” नेताजीले राम्ररी मिश्रीतिर हेर्दा पनि नहेरी भने । उनको दृष्टि मिश्री तर्फ नभएर आफ्नै नारीमा भिरेको सुनको चेनयुक्त महँगो घडीमा समय हेर्न व्यस्त थियो ।
“हजूर….म सहिद जूठे विश्वकर्माकी घरिणी ! कामी गाउँकी मिश्री । चिन्नुभएन क्यारे, म उही मिश्री भाउजू क्या त !” मिश्रीले उत्साही हुँदै आफूलाई चिनाउने प्रयास गरी ।
“ल…ल… छोटोमा भन्नोस्, किन आएको ?”
नेताजीको उपेक्षाभाव र रुखो स्वरले भने मिश्रीमा देखिएको यस अगाडिको झिनो आशा पनि मेटियो । तै पनि केही भइहाल्छ कि ? साहस जुटाएर उसले मुख फोरी, “हजूर, टुहुरी छोरी हुर्काउन पनि गाह्रो प¥यो । केही काम पाए पनि पनि हुने । शहीद परिवारलाई घडेरी दिएको रे भन्ने सुन्थेँ, त्यही पाए पनि पसिना बगाएर खान्थेँ ।”
“तपाइँजस्ता दिनमा कति आउँछन्, कति ! तै पनि एउटा निवेदन छाडेर जानू, केही हुन सके गरौंला !” त्यति भनेर नेताजीले साथै निस्केका सहयोगीलाई आदेश दिए, “यिनलाई दुईचार सय बाटोखर्च दिएर पठाउनू !”
मिश्रीको मनमा पहिरो गयो । उनीभित्र अगिदेखि मच्चिएको तुफानले सीमा नाघ्यो । उनको मुखमा क्रोधको ज्वाला दन्कियो । मुखबाट रणचण्डीझैं स्वर गुञ्जियो– “म भीख माग्न आएकी होइन । न त हिजो परिवारलाई खतरामा पारेर सेल्टर दिँदै जोगाएर मिठो मसिनो बनाइतुल्याइ ख्वाएको मोल उठाउन आएकी हुँ ! म त अधिकार माग्न आएकी थिएँ, मेरो लोग्नेको रगतको अधिकार ! हिजो तपाइँले नै देखाउनु भएको सपनाको अधिकार !”
लाजले होला, सूर्य पराजित सिपाहीँजस्तै बादलभित्र लुके । वातावरण स्तब्ध बन्यो । सुन्नेजति अवाक देखिए । मिश्री भने स्वाभिमानले झर्भmाउँदो अनुहार लिएर सिंहिनीझैं गर्वसाथ बाहिरिइ त्यस निस्ससिँदो सपनाको चिहानघरबाट !
२०७६ वैशाख २९
विजय निवास,
रमेश विकल मार्ग, आरुबारी