पृथक्बाटो हिँड् रुचाउने साहित्यकार मैनाली !

(सुलेख–८२, वर्ष ८, अङ्क ३, असार २०७६)

तीसको दशकमैं सफलता उन्मुख कथाहरूको सङ्ग्रह प्रकाशित गसिकेका सर्जक युवराज मैनाली समालोचकका रूपमा बढी चर्चित रहे पनि उनी भित्रको कथाकार व्यक्तित्व उत्तिकै प्रखर छ । उनै मैनालीको नवीनम कृति “पृथक्बाटो” शीर्षक पृथक्खालका लघुकथाहरूको सङ्ग्रह पढेपछि समालोचक नभएर पनि केही लेख्ने हुटहुटी थाम्न सकिन ।
मैनाली व्यवहारमा पनि पृथक्नै छन् । पद–प्राप्ति र लाभको निमित्त स्वाभिमान बेचेर झोली थाप्नेहरूको भिडभन्दा अलग्गै छन् उनी । मैनालीको स्वाभिमान कसैसँग कहिले झुक्न जानेन, त्यसैले उनी पृथक्छन् । सत्य लुकाएर चिल्लो–चाप्लो जान्दैनन् मैनाली, त्यसैले अरुभन्दा पृथक्छन् उनी । खस्रो बोल्ने आरोप खेपेर पनि सत्य बोल्छन्, यथार्थ बोल्छन् र बस्तुनिष्ठ बोल्छन् । त्यसैले तेल मालिस र गणेश परिक्रमामा रमाउँदै लाभको वजन अनुसार चाप्लुसीका शब्द खर्चने धेरैभन्दा उनी पृथक् छन् ।
विक्रम सम्वत् २०३७ सालमैं “मुर्दा बोल्यो” शीर्षकको कथासङ्ग्रह मार्फत सफलताउन्मुख कथाहरू लिएर नेपाली आख्यान सृजनमा सार्थक उपस्थिति देखाएका हुन् । त्यस पछि किन हो कथाभन्दा समालोचना तर्फ बढी समय खर्चेर राम्रो योगदान दिँदै आए । अहिलेसम्म छ वटा कृति प्रकाशन गरेका मैनालीको आख्यान विधामा कथा र लघुकथाका गरी दुई वटा मात्र सङ्ग्रह प्रकाशनमा आएका छन् । उनका समालोचनामा तीन वटा सङ्ग्रह प्रकाशित भएका छन् । सुनिन्छ समालोचनाकै अर्को कृति प्रकाशनको सङ्घारमा रहेको छ । “केही प्रतिभा केही प्रवृत्ति (२०४२)” उनको दोस्रो कृति समालोचना सङ्ग्र नै रह्यो । उनले तेस्रो कृतिका रूपमा “भ्रष्टाचारको भाङ (२०६५)” शीर्षक हास्यव्यङ्ग्य सङ्ग्रह प्रकाशनमा ल्याए । यो कृतिले मैनालीलाई सफल हास्यव्यङ्ग्यकारको रूपमा स्थापित गरेको छ । त्यति मात्र नभएर यही कृतिले उनलाई भैरव हास्यव्यङ्ग्य पुरस्कारजस्तो प्रतिष्ठित पुरस्कारको हकदार बनायो ।
यसरी चर्चित र सफल भए पनि यो सफलता सुरुको कथाकार मैनालीको कथाकार व्यक्तित्वको विस्तार भने थिएन, आख्यानेतर निबन्धकार व्यक्तित्वको स्थापना थियो । त्यसपछिको अर्को कृति पनि समालोचना नै रह्यो– “कर्मयोगी देवकोटाको महाकाव्यको विश्लेषण (२०७०) । यसरी उनको योगदान विशेष गरी समालोचना तर्फ रहेकैले होला पाठक माझ उनको मूल पहिचान समालोचकको रूपमा निर्माण हुन पुगेको छ । द्रष्टा व्यक्तित्वको चमकमा उनको अझ महत्वपूर्ण योगदान रहेको क्षेत्र स्रष्टाको पहिचान ओझेल परेको छ । त्यसमाथि पनि कथाकारको व्यक्तित्व झनै ओझेलमा प¥यो । कथाबाट प्रारम्भ भएको मैलालीभित्रको सर्जकले कथा लेखनलाई भन्दा बढी समय द्रष्टा व्यक्तित्वको निर्माणलाई दिएर एकप्रकारले आफैंमाथि अन्याय गरेका छन् । त्यस्तै उनलाई एकोहोरो समालोचकको मात्र पहिचान दिएर हामीले पनि उनको सर्जक व्यक्तित्वमाथि अन्याय गरिरहेका छौं कि ?
जे होस् निकै लामो समय पछि उनी कथा विधा तर्फ पुःन आकर्षित भएका छन् । यसपल्ट उनी कथा नभएर कथाकै लघुत्तम रूप लघुकथाको सङ्ग्रह लिएर आए । आशा गरौं मैनालीले अबको आफ्नो अवकाश प्राप्त समयलाई कथा सिर्जनालाई पनि समान रूपमा खर्चने छन् ।
आख्यानको लघुत्तम रूप लघुकथा (लघु–लघुकथा) नेपाली सहित्यको आख्यान विधामा स्थापित उपविधा हो । हामीले कथा भन्दै आएको लामो कथालाई पनि लघुकथा भन्ने गरिएको छ र यो अङ्ग्रेजीमा सर्ट स्टोरी कै नाउँले परिचित रहेको छ । नेपाली पाठक माझ भने अङ्ग्रेजीमा भनिने “सर्ट स्टोरी” को पर्याय नै भए पनि “कथा” ले सम्बोधित हुने गरेको छ । त्यसै गरी यसको लघुत्तम रूप “लघुकथा” को रूपमा !”
आजको हतारको समयमा छोटो समयमैं पढ्न सकिने खालको “लघुकथा” को लघुत्तम रूप निकै लोकप्रिय हुँदैछ । छोटो संरचना र तीब्र रूपमा प्रभाव पार्न सक्ने यसको गुणले गर्दा “लघुकथा” पाठक माझ निकै लोकप्रिय बन्दै जानु स्वाभाविक पनि हो । “कथा” माजस्तै “लघुकथा” मा पनि कुनै न कुनै कथाबस्तु हुन्छ, पात्र अनि तिनका चरित्र हुन्छन् । संवाद र कथोपकथन हुन्छ, देशकाल र परिस्थितियुक्त परिवेश हुन्छ । यसमा पनि कथाको केन्द्रीय भाव वा उद्देश्यका साथै द्वन्द्व र क्रियाव्यापार आधारभूत पक्ष रहन्छ ।
विद्वान्हरू “एकै बसाइमा पढिसकिने” लघु वा मझौला संरचना, “२० मिनेटमा पढिसकिने”, “सानो संसार चियाउने आँखीझ्याल सरह” को आख्यानको एउटा रूपलाई लघुकथा मान्दछन् । “लघुकथा” अङ्ग्रेजी साहित्यमा “फ्ल्यास फिक्सन” हो । उनीहरूकै परिभाषामा यो अति सङ्क्षिप्त, आख्यानको एउटा शैली हो । यो तीन सय शब्दको सीमामा लेखिने गरिएको बताइन्छ । यता चिनियाहरू यस्ता अति सानो कथालाई ‘स्मोक लङ’ भन्ने गर्छन् । अर्थात एउटा चुरोट खाइसक्दा पढी सकिने ! यस्ता अरु पनि धरै नाम प्रयुक्त छन् यसलाई चिनाउन ।
अकारादि क्रममा लेखिएका कथाहरू त्यही क्रममा सङ्गृहित गरिएका छन् सङ्ग्रहमा । सङ्ग्रह “अनिष्ट” शीर्षकबाट सुरु गरेर “हो र त्यो आउँदै छ” शीर्षकमा टुङ्ग्याइएको छ । “अ” देखि “ह” सम्मका वर्णमा प्रत्येक शीर्षकमा एक वा एक भन्दा बढी कथा लेखेर पनि कथाकारले आफूलाई पृथक् देखाउन प्रयत्न गरेका छन् । लघुकथा लेखनमा यो आर्फैंमा एउटा नयाँ र पृथक् प्रयास हो । विभिन्न लेखकका लघुकथा सङ्कल गरिएका ग्रन्थ बाहेक एकै जना लघुकथाकारको यति मोटो सङ्ग्रह आउनु गौरवको विषय हो । दुई सय चौसठ्ठी पृष्ठको यो वृहताकार सङ्ग्रहमा एकदेखि दुईसम्म पृष्ठका दुई सय त्रिसठ्ठी वटा विभिन्न आकारमा बुनिएका लघुकथा सङ्गृहीत छन् । सङ्ग्रहमा चार हरफका २६ शब्दमा लेखिएको “परिणति” शीर्षक कथादेखि दुई पृष्ठ लामो “दोहोरिएका कथाहरू” शीर्षक लगभग ३५० शब्दको कथा रहेका छन् ।
विविध विषयलाई केन्द्रबिन्दु बनाइएका यी कथाहरूको सङ्ख्या मात्र नभएर विषयगत आयाम पनि विस्तृत छ । सरसर्र्ती पढ्दा मैनालीको कथाकारको मूल प्रवृत्ति राजनीतिक विकृतिमाथिको व्यङ्ग्य नै हो । उनी स्वयम् हास्यव्यङ्ग्य निबन्धका सफल स्रष्टा रहेकाले पनि कथा सिर्जनामा व्यङ्ग्यभाव पाइनु स्वभाविक हो । त्यसमाथि सबै नीतिहरूको पनि नीति मानिने राजनीतिको मुहान नसङ्लिइ अरु कुराको सुधार हुन सक्दैन । यस दृष्टिले समेत आजका सिर्जनामा केन्द्रीय भाव राजनीतिक विकृतिप्रतिको व्यङ्ग हुने गरेको छ र मैनालीले पनि यसलाई प्रमुखता दिएका छन् । रानीतिज्ञको मुखुण्डो भिरेका नेता कार्यकर्ताको अनुहारभित्र देखिने कमाउ नीति भ्रष्ट कर्मचारीको भन्दा पनि डरलाग्यो देखिँदैन । यसरी भ्रष्टाचार, दलाली र विलौचियापनसँग साटिएका नेताहरूको अनुहार देखिरहेका मैनालीका कथाले यिनको सच्चा रूप देखाउने प्रयत्न गर्नु अत्यन्त स्वाभाविक पनि हो ।
दिहुँ बढ्दो बढ्दो महँगी, बाँच्न चाहिने न्यूनतम कुराहरूको समेत अभाव र डरलाग्दो प्रदूषणको सत्यबोध गराउँदै पाठकलाई आफ्नो कथा संसार तर्फ प्रवेश गराउने मैनालीको यो सङ्ग्रहले समाजमा व्याप्त अन्य चरम विकृति र विसङ्गतिलाई पनि उत्तिकै मात्रामा उजागर गरेका छन् । हुन पनि आजको भुइँमान्छेले दोलखा भीमसेलाई पसिना आउनु र बिस्केटको लिङ्गो भाँचिनुबाट सिर्जित अन्धविश्वासको जगमा हुर्किएको मनोवैज्ञानिक अनिष्टभन्दा पनि ठूलो अनिष्ट आजको महँगी, असुरक्षा र यिनबाट सिर्जित मानसिक, शारीरिक र भौतिक पीडामा भोगिरहेका छन् ।
दोलखा भीमसेनलाई पसिना आउनु, विस्केटको लिङ्गो भाँच्चिनु जस्ता नितान्त प्राकृतिक घटनालाई अनिष्ट मान्ने नेपाली समाजको मनोविज्ञान प्रति व्यङ्ग्य गर्दै त्यो भन्दा बढी अनिष्ट कमिसन, घुसखोरी, र राजनीतिलाई कमिसनको हतियार ठान्ने आजको रानीतिक प्रवृत्ति भएको औंल्याएर सुरु भएको सङ्ग्रह मानिसले आफूभित्र हुर्काउन थालेको दानवी र यान्त्रिक प्रवृत्ति तर्फ इङ्गिित गर्दै यस्ता प्रलय नमित्याउन सचेत गराएर टुङ्गिएको छ । पूर्णतः परनिर्भर बन्दै गएको अर्थतन्त्रलाई समेत भ्रष्टहरूले चारै तिरबाट गिद्धले सिनु लुछेजस्तै लुछेएर तन्नम तुल्याइकेका छन् । इमान्दारलाई बदनाम गरेर बदनाम गल्लीमैं हिँड्न वाध्य तुल्याउने समाजमा रूपान्तरण हुँदै गएको आजको मेरो परिवेश प्रति व्यङ्ग्यको प्रहार गरेका छन् मैनालीले !
“आजको अर्जुन” शीर्षक कथा मेरो पाठकीय दृष्टिमा सङ्ग्रहकै उत्कृष्ट कथा हो । यो कथा पढ्दा मेरो अगाडि अरबको खाडीमा पानीभित्रको माछाको आँखा भेदन गर्ने कष्टसाध्य प्रयत्न गरिरहेका युवा र यता त्यही पसिनाको मोलमा मोजमस्तीमा डुबेका आजका र्दै्रंपदीहरूको चित्र झलझली आइरह्यो । हो त, “द्रौपदी द्रव्यासनमा बसेर हेर्दै” छन् आज । कति गम्भीर अर्थबोध गराएको छ यो “आजका अर्जुन” कथाले ! हो त आजका अर्जुनहरू राजा द्रुपदको दरबारमा होइन, द्रौपदीहरू रिझाउन खाडीतिर पञ्चाग्निको राप सहँदै छन् । सपनामा तैरिएका माछाको आँखामा निशाना ताक्दै छन् । यता आजका द्रैपदीहरू तिनै अर्जुनहरूले पठाएका पसिनाको पेगमा पौडिँदै तिनै अर्जुनहरूले खडा गरेका द्रव्यासनमाथि छन् !
भेषभूषमा आएको विकृति, पूर्वीय सभ्यताको सौन्दर्य, निमित्त नायकहरूको लहडमा खलबलिएको शान्ति–सुरक्षा, वरदान बन्नु पर्ने विज्ञानले निम्त्याएका विनास, चालु कवि साहित्यकारको पोल, न्यायहीनता सबै विषय समेटिएका छन् मैनालीका कथामा । त्यसैले सङ्ग्रहको परिवेश व्यापक छ, समकालीन यथार्थको दस्तावेज बनेको छ सङ्ग्रह !
पूर्ण दोषमुक्त भने छैन जस्तो लाग्छ मैनालीको यो सङ्ग्रह । कतिपय कथामा पाठकलाई कथाले के भन्न खोजेको हो, ठम्याउनै हम्मे हम्मे पर्छ । र, बुझिँदैन पनि । त्यस्तै प्राय कथालाई कथाकार भन्दा निबन्धकार–चिन्तक मैनालीको सिर्जनात्मक शैलीले बढी थिचेको छ । कतिपय कथा पढ्दा कथा वा ललित निबन्ध के पढ्दैछु भन्ने छुट्याउन कठिन पर्छ । “आजका अर्जुन” र “कमाल” कथामा एउटै विषयबस्तु दोहोरिएको छ । गाण्डिवको सट्टा “गान्धिव पृ. २७, ३५” हुन पुगेको छ । यस्ता केही मुद्रणगत कमजोरी छिटपुट रहे पनि पुस्तकको आवरण सुन्दर छ ।
समग्रमा नेपाली लघुकथा विधामा यो कृतिले सार्थक उपस्थिति जनाएको छ भन्न हिकिचाउनु पर्दैन । स्रष्टा मैनालीबाट लघुकथाका अरु पनि सङ्ग्रह आउँदै जाऊन्, शुभकामना !
विजय निवास, आरुबारी ।